Wednesday, April 8, 2020

पवित्र र अपवित्र पानीको वर्णन


१- अबू हुरैरह (रजि.) को भनाई अनुसार एउटा व्यक्तिले अल्लाहका रसूल (स.) सँग सोध्यो,  “हे अल्लाहका सन्देष्टा ! हामी समुद्रबाट यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ । यदि हामी त्यस पानीलाई वुजुु गर्नको लगि खर्च गर्छौ भने हामीसित पिउनको लागि पानी बच्नेछैन । के हामी समुद्रको पानीले वुजु गर्न सक्छौं ?” उहाँ (स.) ले जवाफ दिनु भयो, “त्यो (समुद्रको पानी) पवित्र हो (पवित्र पार्ने शक्ति त्यसमा छ) र त्यसको मृत जनावर हलाल हो (वैध हो खान सकिन्छ) ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

२- उम्मे हानी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स) र मैमूना (रजि) ले एउटा यस्तो भाँडामा गुस्ल गरे (नुहाए) जसमा आँटा मुछेको केही अशं बाँकी थियो । (अह्मद, नसई, इब्ने खुजैमा)

३- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि पानी 'हजर' (अरबको एक ठाँउको नाम हो जहाँको घ्याम्पो निकै प्रचलित थियो) को दुई घ्याम्पो बराबर छ भने त्यो अपवित्र हुँदैन ।” (मुस्नद अह्मद, तिर्मिजी, नसई)

४- जाबिर (रजि.) को भनाई छ, उहाँ भन्नु हुन्छ, “म बिरामी थिएँ र कुनै कुरा बुझ्दैन थिएँ । अल्लाहका रसूल (स.) मलाई भेट्न आउनु भयो । उहाँ (स.) ले वुजु बनाउनु भयो र वुजुु बनाएको पानी म माथि खन्याइदिनु भयो । (बुखारी र मुस्लिम)

५- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “तिमीहरुमध्ये कोही पनि जमेको पानीमा अपवित्र भएको अवस्थामा गुस्ल नगरोस् ।” सबैले सोधे, “ हे अबू हुरैरह ! अनि के गर्ने त ?” अबू हुरैरह (रजि.) ले भन्नु भयो “हातले पानी लिएर गुस्ल गर्ने ।” (मुस्लिम, इब्ने माजा) अबू दाऊदमा उल्लेख गरिएको हदीसमा अल्लाहका रसूल (स.) का यी शब्दहरु प्रयोग भएका छन् : “तिमीहरुमध्ये कोही पनि जमेको पानीमा न त पिसाब गरोस् र न जनाबतको (गुस्ल अनिवार्य भएको) अवस्थामा गुस्ल गरोस् ।

६- आइशा (रजि) को भनाई छ, उनी भन्छिन, “म हैज (महिनावारी) को अवस्थामा हुन्थे, म पानी पिएर अल्लाहका रसूल (स.) लाई दिन्थे, अनी उहाँ (स.) भाँडामा त्यस ठाँउमा मुख राखेर पानी पिउनु हुन्थ्यो जहाँ मैले मुख लगाएर पानी पिएको हुन्थे ।” (मुस्लिम)

७- जाबिर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) सँग एउटा व्यक्तिले सोध्यो, “के हामी गधाहरुले पिएर बचाएको पानीबाट वुजु गर्न सक्छौं ?” उहाँ (स.) ले भन्नु भयो, "अँ सक्छौ, र सम्पूर्ण शिकार गर्ने जन्तुहरुले पिएर बचाएको पानीबाट पनि गर्न सकिन्छ ।” (मुस्नद इमाम शा, दार कुत्नी, बैहकी)

८- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) यात्रामा जाँदै हुनुहुन्थ्यो, बाटोमा एउटा मान्छेलाई एउटा ठूलो पोखरीमा बसेको देख्नु भयो  । उमर (रजि.) ले त्यस व्यक्तिसँग सोधे, “के राती जङ्गली जनावरहरुले तिम्रो पोखरीमा मुख हालेको छ (अर्थात पोखरीलाई जुठो पारेको छ) ? ” अल्लाहका रसूल(स.) ले त्यस व्यक्तिलाई संबोधन गरेर भन्नु भयो, “हे पोखरीको मालिक! यस (उमर (रजि.)) लाई जवाफ नदेऊ । यो जरुरी छैन, जङ्गली जनावर आफ्नो पेटमा जे बाकेर गयो (जति पानी बोकेर गयो) त्यो उसको हो र जे  छोडेर गयो त्यो हाम्रो लागि हो । पिउनको लागि र पवित्रता प्राप्त गर्नको लागि ।” (दार कुत्नी)

९- कब्शा बिन्त कअ्ब (रजि.) को भनाई छ, “एक दिन अबू कतादा (उनको लोग्ने) (रजि) मेरो समक्ष आउनु भयो मैले उहाँलाई वुजुको लगि भाँडोमा पानी दिएँ । त्यति खेर एउटा बिरालो आयो र त्यस भाँडाबाट पानी पिउन थाल्यो । अबू कतादा (रजि.) ले उसको लागि भाँडालाई ढल्काइ दिनुभयो अनि बिरालेले पानी पिइ सक्यो । अबू कतादा (रजि.) ले जब मलाई उहाँतिर अचम्मले हेरेको देख्नुभयो, भन्नुभयो, “नबी (स) ले भन्नुभएको छ कि यो (बिरालो) अपवित्र होईन । यो त उनीहरु मध्येको हो जो तिमीहरु समक्ष आइरहन्छ । (मुस्नद अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

१०- अबू हरैरह (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरु मध्ये कसैको भाँडामा कुकुर मुख हालेर जान्छ भने उसले त्यस भाँडोलाई सात (७) पटक धुनु पर्दछ, पहिलो पटक माटोले धुने र बाँकी ६ पटक पानीले धुने । (बुखारी, मुस्लिम, इमाम अह्मद)

No comments:

Post a Comment