Saturday, April 11, 2020

वुजु अमान्य नगर्ने कार्यहरू


१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले उनलाई चुम्बन  गर्नुभयो  जब कि उहाँ (स.) रोजा बस्नु भएको थियो र उहाँ (स.) ले भन्नुभयो, “चुम्बन गर्नाले वुजु टुट्दैन र न रोजा टुट्छ ।” (इस्हाक बिन राह्विया (रह.), बज्जार (रह.))

२) आइशा (रजि.) को भनाई छ , उहाँ (रजि.) भन्छिन्, “म अल्लाहका रसूल (स.) को अगाडि सुतिरहेकी हुन्थें र मेरो खुट्टा उहाँ (स.) को किब्ला (काबा) तिर हुन्थ्यो । जब उहाँ (स.) सज्दामा जानु हुन्थ्यो मलाई आफ्नो हातले हटाउनु हुन्थ्यो  र म आफ्नो खुट्टा हटाई दिन्थे ।” (बुखारी र मुस्लिम)

३) उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अल्लाह तआला पवित्रता (वुजु) बिना कुनै नमाज स्वीकार गर्नुहुन्न र न त्यस सद्का (दान) लाई स्वीकार गर्नुहुन्छ जुन माले गनिमत (युद्धमा विजय पछि प्राप्त भएको सामान) बाट चोरेर दिएको होस् । “ (मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

Thursday, April 9, 2020

वुजुलाई अमान्य गर्ने अवस्थाहरू


१) अबू हुरैरह(रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको वुजु टुट्छ भने अल्लाह तआला उसको नमाजलाई स्वीकार गर्नु हुन्न जबसम्म ऊ फेरी वुजु गर्दैन ।” “हदरे मौत” (एउटा ठाँउको नाम) बाट आएको एक जनाले अबू हुरैरह (रजि) लाई सोध्यो “वुजु टुट्नु भनेको के हो?” उहाँ (रजि.)ले भन्नुभयो, “दिसा गर्ने अंगबाट आवाजका साथ वा बिना आवाज हावा निस्कनु ।” (बुखारी र मुस्लिम)

२)अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही आभास गर्छ तर निश्चित छैन कि उसले हावा निकाल्यो कि निकालेन भने, ऊ मस्जिदबाट बाहिर ननिस्कोस् जबसम्म ऊ आवाज सुन्दैन वा गन्ध पाउँदैन” । (मुस्लिम)

३) इब्ने अब्बास (रजि.) भन्नुहुन्छ, “वीर्य (निस्केको अवस्थामा) गुस्ल अनिवार्य हुन्छ र मजी (निस्केको अवस्थामा) आफ्नो गुप्ताङ्गलाई धुनु र वुजु बनाउनु अनिवार्य हुन्छ ।” (बैहकी)

४) अली (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नुभयो, “व्युझेको अवस्था हावा निस्किने ठाँउलाई छोप्नु (हावा रोक्न सक्ने क्षमता हुने अवस्था) हो । तसर्थ तिमीहरूमध्ये यदि कोही निदाँउछ भने व्युझे पछि उसले वुजु बनाउनु अनिवार्य हुनेछ । “(अह्मद, अबू दाऊद, इब्ने माजा)

५) अनस (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) का सहाबीहरू (रजि.) ईशा नमाजको प्रतिक्षामा हुन्थे । यहाँसम्म कि  बस्दा बस्दा निद्राको कारणले उनीहरूको टाउको निहुरिन्थ्यो । उनीहरू (नमाज पढ्ने समयमा) उठेर जान्थे र नयाँ वुजु नबनाइकन नमाज पढ्थे ।“(मुस्लिम, शाफई, अबू दाऊद, तिर्मिजी)

६) बुस्रह बिन्त सफ्वान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जो कोही आफ्नो गुप्ताङ्गलाई छुन्छ उसले नयाँ वुजु नबनाइकन नमाज नपढोस् ।” ( मुस्नद अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

७) तल्क (रजि.) को भनाई छ, जो व्यक्ति आफ्नो गुप्ताङ्गलाई छुन्छ, के माथि वुजु गर्नु अनिवार्य हुन्छ भनी एउटा व्यक्तिले अल्लाहका रसूल (स.) लाई सोध्यो । उहाँ (स) ले भन्नुभयो, “होइन, त्यो त तिम्रो शरीरको एउटा अङ्ग हो । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

८) इब्ने अबी दर्दा (रजी.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले बान्ता गर्नुभयो अनि वुजु गर्नुभयो । (तिर्मिजी)

९) अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज पढाउँदै हुनुहुन्थ्यो । एक जना अन्धो व्यक्तिले मस्जिदमा प्रवेश गर्यो  र ऊ एउटा खाडलमा खस्यो । यो देखेर नमाजीहरू मध्ये धेरै जना हाँसे । जो जो हाँसेका थिए तिनीहरूलाई अल्लाहका रसूल (स.) ले फेरि वुजु गरेर नमाज दोहोराउने आदेश दिनुभयो ।” (तब्रानी, शरह मुअत्ता इमाम मुहम्मद)

वुजु के हो र त्यसको तरिका


१- अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको वुजु टुट्छ (वा उसको वुजु छैन) भने उसले वुजु नबनाउन्जेलसम्म अल्लाह तआला उसको नमाजलाई स्वीकार्दैनन्  ।” (मुस्लिम, बुखारी, अबू दाऊद, तिर्मिजी)

२- अब्दुल्लाह बिन सुन्नाबिजी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अल्लाहको भक्त वुजु गर्दा जब कुल्ला गर्छ उसको मुखबाट पापहरू झर्छ । जब ऊ अनुहार धुन्छ, उसको अनुहारबाट पापहरू झर्छ यहाँसम्म कि उसको परेलाबाट पनि पापहरू झर्छ । जब ऊ हात धुन्छ उसको हातबाट पापहरू झर्छ यहाँसम्म कि उसको नङहरूको मुनिबाट पनि पापहरू झर्छ । जब ऊ टाउकोको मसह गर्छ (टाउकोमाथि हात फेर्छ) टाउकोबाट पापहरू झर्छ यहाँसम्म कि कानहरूबाट पापहरू झर्छ । जब ऊ आफ्नो खुट्टा धुन्छ, उसको खुट्टाबाट पापहरू झर्छ यहाँसम्म कि उसको खुट्टाका औंलाहरूबाट पापहरू झर्छ । त्यसपछि उसको मस्जिद तिर हिँडेर जानाले र नमाज पढ्नाले उसले अतिरिक्त पुण्य प्राप्त गर्छ ।” (मुअत्ता इमाम मालिक, नसई, इब्ने माजा, हाकिम)

३- उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “कर्महरू नियतमाथि आधारित छन् ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, अह्मद)

४- उसमान (रजि.) ले वुजुको लागि पानी मगाउनु भयो । पहिले उहाँले तीन पटक आफ्नो हातमा पानी खन्याउनु भयो र त्यसलाई धुनु भयो । अनि भाँडोमा हात हाल्नु भयो र तीन पटक कुल्ला गर्नु भयो, नाकमा पानी हालेर सफा गर्नु भयो र पुरै अनुहार धुनु भयो । अनि तीन पटक कुहिनासम्म दुबै हात धुनु भयो अनि टाउको (र कान) को मसह गर्नु भयो । अनि तीन चोटि गोलीगाँठोसम्म दुबै खुट्टा धुनु भयो अनि भन्नुभयो, “मैले अल्लाहका रसूल (स.) लाई यसरी नै वुजु गरेको देखेको छु । (बुखारी र मुस्लिम)

५- अब्दुल्लाह बिन जैद (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले आफ्ना दुईवटै हातले आफ्नो टाउकोको मसह गर्नु भयो । उहाँ (स.) ले पहिले दुबै हातलाई अगाडीबाट (निधारतिरबाट) पछाडी घाँटी तिर लिएर जानु भयो अनि फेरि पछाडिबाट अगाडी तिर ल्याउनु भयो जहाँबाट शुरू गर्नु भएको थियो । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

६- मुगीरह बिन शुअब (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले आफ्नो टाउकोको अगाडीको भाग, फेटा र मोजामाथि मसह गर्नु भयो । (मुस्लिम)

७- अम्र बिन उमैया (रजि) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई आफ्नो फेटा र मोजामाथि मसह गरेको देखें । (बुखारी, अह्मद, इब्ने माजा)

८- अब्दुल्लाह बिन उमर (रजि.) भन्छन्, एउटा यात्रामा अल्लाहका रसूल (स.) हामी भन्दा पछाडी रहनु भयो जसको कारणले हामीलाई असरको नमाजको लागि ढिलो भयो । हामी वुजु गर्दा खुट्टामा मसह गर्न थाल्यौं, अल्लाहका रसूल (स.) ले चिच्याएर दुई वा तीन पटक भन्नुभयो, “गोलिगाँठालाई आगोबाट बचाऊ” (अर्थात गोलिगाँठालाई धोऊ मसह नगर) । (बुखारी, मुस्लिम)

९- अबू हुरैरह (रजि.) का भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि मेरा उम्मतीहरू (मेरा अनुयायीहरू) लाई कष्ट नहुने भए म वुजु गर्दा हरेक पल्ट मिस्वाक गर्ने आदेश दिन्थें । “(मालिक, शाफई, हाकिम, बैहकी)

१०- औस बिन औस (रजि.) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई वुजु गर्दा तीन पल्ट आफ्नो हात (नाडीसम्म) धोएको देखें । (अह्मद, नसई)

११- लकीत बिन सबरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जब तिमी वुजु गर्छौ, कुल्ला गर्नु ।” (अबू दाऊद, बैहकी)

१२- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरूमध्ये कोही वुजु गर्छ भने ऊ नाकमा पानी हालोस् र नाकलाई सफा गरोस् ।” (बुखारी, मुस्लिम, अबू दाऊद)

१३- अली (रजि.) ले वुजु्को लागि पानी मगाए । अनि कुल्ला गरे, नाकमा दाहिने हातले पानी हाले र देब्रे हातले नाक सफा गरे र उनले यो काम तीन पल्ट गरे पछि भने, “यही हो अल्लाहका रसूल (स.) को वुजु (को तरिका) ।” (अह्मद, नसई)

१४- लकीत (रजि.) भन्छन्, मैले अल्लाहका रसूल  (स.) सँग सोधें, “हे अल्लाहका रसूल ! मलाई वुजुको विषयमा सिकाउनुहोस् । “उहाँ (स.) ले भन्नुभयो, “वुजु पूरा गर, औंलाहरूको बिचमा खिलाल (औंलाहरूको बीचमा अर्को हातका औंलाहरूले मल्नु) गर र नाकमा राम्ररी पानी हाल यदि तिमी रोजा बसेको छैनौं भने ।” (अबू दाऊद, अह्मद तिर्मिजी, नसई, इब्ने माजा)

१५- इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरू वुजु गर्दा आफ्ना हात र खुट्टाका औंलाहरूको बीचमा खिलाल(औंलाहरूको बीचको भागमा अर्को हातका औंलाहरूले मल्ने) गर ।” (अह्मद, तिर्मिजी, इब्ने माजा)

१६- आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जुत्ता लगाउन, काँईयो गर्न, वुजु गर्न र आफ्ना सम्पूर्ण अन्य कामहरूमा दाहिने तर्फबाट शुरू गर्न मन पराउनु हुन्थ्यो । “(बुखारी, मुस्लिम)

१७- अब्दुल्लाह बिन जैद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) लाई त्यस भाँडामा पानी दिइयो जसबाट उहाँ (स) वुजु बनाउनु हुन्थ्यो । उहाँ (स.) ले वुजु गर्नु भयो र आफ्ना हातहरूलाई मलेर धुन थाल्नु भयो ।” (मुस्नद इमाम अह्मद)

१८- अल्लाहका रसूल (स.) को भनाई छ, “कान टाउकोको भाग हो ।” (अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

[कान यद्यपि टाउकोको भाग हो र कानमा टाउकोको सरह नै मसह गरिन्छ तर कानमा मसह गर्नु टाउकोको सरह फर्ज (अनिवार्य) होइन बरू सुन्नत हो ।]

१९- इब्ने अब्बास (रजि.) अल्लाहका रसूल (स).) को वुजु गर्ने तरिका वर्णन गर्दे भन्नु हुन्छ, अल्लाहका रसूल (स.) ले आफ्नो टाउको र कानको मसह एक पल्ट पानी लिएर गर्नु भयो । (अह्मद, अबू दाऊद)

२०- अनस (रजि.) को भनाई अनुसार नबी (स.) एक “साअ” (२.०३ लिटर) देखि ५ “मुद” (२.५५ लिटर) पानीले गुस्ल गर्नु हुन्थ्यो र एक “मुद्” (६०० मि.लि) पानीले वुजु गर्नु हुन्थ्यो । (बुखारी र मुस्लिम)

[हनफी बिद्वानहरूका अनुसार एक साअ ३ लिटर र एक मुद् ०.७५ लिटर को हुन्छ ।]

२१- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार सअ्द (रजि) वुजु गर्दै थिए ।  उनको नजिकबाट नबी (स.) जानुभयो र भन्नुभयो, “हे सअद ! तिमी किन अपव्यय गर्दै छौ (वुजु बनाउन पानी आवश्यकता भन्दा बढी खर्च गर्दैछौ)? सअ्द (रजि.) ले भने, “पानीमा पनि अपव्यय हुन्छ र ?” उहाँ (स.) ले भन्नुभयो, “हुन्छ, यद्यपि तिमी बगेको नदीमा वुजु गर (आवश्यकता भन्दा बढी पानीको खर्च गरेमा त्यहाँ पनि अपव्यय नै हुनेछ) ।” (अह्मद, इब्ने माजा)

२२- जैद बिन हारिस (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) माथि अल्लाहको सन्देश अवतरण हुन शुरू भयो, एक दिन जिब्रइल (अ.) अल्लाहका रसूल (स.) समक्ष आए र उहाँ (स.) लाई वुजुको तरिका र नमाज पढ्न सिकाए । अल्लाहका रसूल (स.) ले जब वुजु गरिसक्नुभयो अँजुलीमा पानी लिनुभयो र त्यसले आफ्नो गुप्ताङ्गको लुगामा छर्कनु भयो । “(मुस्नद इमाम अह्मद)

२३- अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले बिलाल (रजि.) लाई भन्नुभयो, “हे बिलाल ! मलाई बताऊ कि तिमीले इस्लाम अङ्गाले पछि कुन पुण्यको काम धेरै मात्रामा गरेको छौ किनकि मैले तिम्रो जुताको आवाज स्वर्गमा सुनें ? बिलाल (रजि.) ले भन्नुभयो, “दिन र रातमा जति बेला पनि म पवित्र हुन्छु (वुजु वा गुस्ल गर्छु) म आफ्नो सामर्थ्य अनुसार जति सक्छु नमाज पढ्छु ।” (बुखारी र मुस्लिम)

२४- उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरूमध्ये जो कोही वुजु पश्चात यो दुआ पढ्नेछ उसको लागि स्वर्गका आठैवटा ढोकाहरू खोलिने छन् । (स्वर्गमा प्रवेश गर्दा) जुन ढोकाबाट प्रवेश गर्न चाहन्छ उसले प्रवेश पाउनेछ ।

أَشْهَدُ أَنْ لَا إِلَهَ إلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ،

 وَأَشْهَدُ أَنَّ مُحَمَّداً عَبْدُهُ وَرَسُولُهُ


अर्थ : "म गवाही दिन्छु कि अल्लाह बाहेक अरू कोही पूज्य छैन, उनी एक्लै छन् ।  उनको कोही साझेदार छैन र म गवाही दिन्छु कि मुहम्मद (स) उनका भक्त एवं रसूल हुन् ।" (तिर्मिजी, मुस्लिम)

तिर्मिजीमा उल्लेख भएको हदीसमा यी शब्दहरू बढी उल्लेख भएका छन्ः "हे अल्लाह ! मलाई तौबा गर्नेवालाहरू र पवित्रता अपनाउनेहरूमध्येको बनाइदेऊ 


Wednesday, April 8, 2020

इस्लाममा दिसापिसाब गर्ने तरिकाको उल्लेख


१- जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) शौच गर्नको लागि टाढा जानु हुन्थ्यो । (अबू दाऊद)

२- अनस (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) को हातमा एउटा औँठी थियो जसमा “मुहम्मद रसूलुल्लाह” कुँदिएको थियो (खोपिएको थियो) । उहाँ (स.) शौचालय जाँदा त्यस औँठीलाई फुकालेर राखिदिनु हुन्थ्यो । (मुस्लिाम, अबू दाऊद, तिर्मिजी, नसई)

३- अबू सईद खुद्री (रजि.) भन्छन् कि उनले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुने, “दुई जनाले शौचालय जाँदा यसरी सँगै जानु हुदैन कि जब उनीहरू शौच गर्छन् सँगसँगै कुराकानी पनि गर्छन किनकी अल्लाहलाई यसो गरेको मन पर्दैन ।” (मुस्नद अह्मद, अबू दाऊद, इब्ने माजा)

४- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) पिसाब फेर्दै हुनुहुन्थ्यो । एउटा मान्छे उहाँ (स.) को नजिकबाट गयो र उहाँ (स.) लाई सलाम गर्यो तर उहाँ (स.) ले उसको सलामको जवाफ दिनु भएन । (मुस्लिम, तिर्मिजी, अबू दाऊद, नसई, इब्ने माजा)

५- अबू हुरैरह (रजि.) को भनाई अनुसार, अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरूमध्ये कोही शौच गर्न बस्छ भने न किब्ला (कअबा) तिर अनुहार फर्काओस् र नढाड ।” (मुस्लिम, मुस्नद इमाम अह्मद)

६- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई छ, “एक चोटी म हफ्सा (रजि.) को घर गएँ अनि देखें कि अल्लाहका रसूल (स.) सिरिया तिर अनुहार र काबा तिर ढाड फर्काएर शौच गर्दै हुनुहुन्थ्यो ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई इब्ने माजा)

७- अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) एउटा पर्खालको नजिक जानु भयो र नरम ठाँउ हेरेर पिसाब गर्नु भयो, पछि भन्नु भयो, “यदि तिमीहरूमध्ये कोही पिसाब गर्छ भने नरम ठाउँ खोजेर गरोस् । ” (मुस्नद अह्मद, अबू दाऊद)

८- अब्दुल्लाह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले कुनै पनि जनावर वा किरा बस्ने प्वालमा पिसाब गर्नबाट मनाही गरेका छन् । (मुस्नद इमाम अह्मद, अबू दाऊद, नसई, हाकिम, बैहकी, इब्ने खुजैमा)

९-अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “दुईवटा कार्यबाट बच जुन श्रापको कारण बन्नेछ । “सहाबीहरू (रजि.) ले सोधे,  “हे अल्लाहका रसूल ! ती दुईवटा कार्य कुन हुन ? ” उहाँ (स.) ले भन्नु भयो, “ मानिसहरू बस्ने र हिँड्ने ठाँउमा दिसापिसाब गर्नु । (मुस्लिम, मुस्नद इमाम अह्मद, अबू दाऊद)

१०- अब्दुल्लाह बिन मुगफ्फल (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “ तिमीहरूमध्ये कोही पनि नुहाउने ठाउँमा पिसाब नगरोस् । ” (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)

११- जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले बग्ने पानीमा पिसाब गर्न मनाही गर्नुभएको छ । (अहमद्, मुस्लिम, नसई, इब्ने माजा)

१२- जबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले जमेको पानीमा पिसाब गर्न मनाही गर्नुभएको छ । (मुस्लिम, अह्मद, नसई, इब्ने माजा)

१३- आइशा (रज.) को भनाई छ, उहाँ भन्नुहुन्छ, “जो तिमीलाई भन्छ कि अल्लाहका रसूल (स.) ले उभिएर पिसाब गर्नु भयो भने उसको कुरा नमान । उहाँ (स.) त बसेर मात्र पिसाब गर्नु हुन्थ्यो । ” (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)

१४- हुजैफा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) फोहोर थुप्रिएका ठाउँमा जानु भयो र त्यहाँ उभिएर पिसाब गर्नु भयो । ” (बुखारी, मुस्लिम, अबू दाऊद, अह्मद, तिर्मिजी, इब्ने माजा, नसई)

१५- आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरूमध्ये कोही दिसापिसाब गर्न जान्छ भने उसले तीनवटा ढुङ्गाले इस्तिन्जा (दिसापिसाब गरिसकेपछि पवित्रता प्राप्त गर्नु) गरोस् किनकी यो पर्याप्त रहेको छ ।” (अह्मद, अबू दाऊद, नसई, दार कुत्नी)

१६- अनस (रजि.) को भनाई छ, उहाँ भन्नु हुन्छ कि अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरू मध्ये कोही दिसापिसाब गर्न जान्छ भने उसले तीनवटा ढुङ्गाले इस्तिन्जा गरोस् किनकी यो पर्याप्त रहेको छ ।” (अहमद्, अबू दाऊद, नसई, दार कुत्नी)
१७- अनस (रजि.) को भनाई छ, उहाँ भन्नु हुन्छ कि अल्लाहका रसूल (स.) शौचालयमा प्रवेश गर्नु हुन्थ्यो र म बाहिर अर्को एक जना केटासँग पानीको भाँडा र भाला बोकेर उहाँ (स.) को लागि जान्थे र उहाँ (स.) पानीले इस्तिन्जा गर्नुहुन्थ्यो ।” (बुखारी र मुस्लिम)

१८- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यो आयत ‘कुवा’ वालाहरूको विषयमा (कुवामा बस्ने मानिसहरूको विषयमा) अवतरित गरिएको हो । “त्यसभित्र यस्ता मानिसहरू छन् जो अति पवित्र रहन मन पराउँछन् र अल्लाह पनि पवित्र रहनेहरूलाई मन पराउँछन् । (सूरह अल्–तौबा: १०८)  अबू हुरैरह् (रजि.) भन्छन्, यिनीहरू (कुवावालाहरू) पानीले इस्तिन्जा गर्दथे । यसै कारणले यो आयत उनीहरूको विषयमा अवतरित गरिएको हो । “(अबू दाऊद, तिर्मिजी, इब्ने माजा) इब्ने अब्बास (रजि.) भन्छन् कि जब यो आयत अवतरित भयो अल्लाहका रसूल (स.) ले कुवावालाहरूलाई सोधे । उनीहरूले भने, हामी पानीले इस्तिन्जा गर्नु भन्दा पहिले ढुङ्गा प्रयोग गर्छौं ।” (बज्जार)

१९- सलमान फार्सी (रजि.) केही मुश्रिकहरू(बहुदेववादिहरू) ले ठट्टा गर्दै भने, “तिमीहरूको नबी (मुहम्मद(स.)) ले तिमीहरूलाई सबै थोक सिकाएका छन् यहाँसम्मकि दिसापिसाब गर्नु पनि सिकाएका छन् ।” सलमान (रजि.) ले जवाफ दिए, “हो, हाम्रा नबी (स.) ले हामीलाई दिसापिसाब गर्दा किब्ला (कअ्बा) तिर अनुहार वा पिठ्यूँ फर्काउन, दाहिने हातले इस्तिन्जा गर्न र हामीहरूमध्ये कसैलाई पनि तीनवटा ढुङ्गाले इस्तिन्जा गर्न मनाही गरेका छन् । र अपवित्र बस्तुले वा हड्डीले इस्तिन्जा गर्न पनि मनाही गरेका छन् ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी)

२०- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “जो इस्तिन्जाको लागि) ढुङ्गा प्रयोग गर्छ उसले बिजोरवटा ढुङ्गा प्रयोग गरोस् । जो यसो गर्छ ऊ राम्रो काम गर्छ र जो यसो गर्देन यसमा कुनै आपत्ति छैन ।” (अह्मद, अबू दाऊद, इब्ने माजा)

२१- अबू हुरैरह (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) शौचालय जानुहुन्थ्यो म पीतलको भाँडोमा पानी लिएर उपस्थित रहन्थे । उहाँ (स.) इस्तिन्जा गर्नु हुन्थ्यो अनि जमिनमा हात रगड्नु हुन्थ्यो । (अबू दाऊद, नसई, बैहकी, इब्ने माजा)

२२-  जैद बिन हारिसा (रजि.) को भनाई अनुसार जब शुरु–शुरुमा जिब्रईल (अ.) अल्लाहका रसूल (स.) समक्ष अल्लाहको सन्देश लिएर आए र उहाँ (स.) लाई वुजु र नमाजको तरिका सिकाए । वुजु पछि अल्लाहका रसूल (स.) ले एक अँजुली पानी लिएर आफ्नो गोप्य अङ्गमाथि छर्कनु भयो । (अह्मद, दार कुत्नी)

२३- आइशा (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) शौचालयबाट बाहिर आउनु हुन्थ्यो तब “गुफ्रानक” भन्नुहुन्थ्यो । (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

२४- उमर (रजि) भन्छन्एक चोटी अल्लाहका रसूल (स) ले मलाई उभिएर पिसाब गरेको देख्नुभयो  । उहाँ (स) ले भन्नुभयो, "हे उमर ! उभिएर पिसाब नगर  ।" त्यसपछि मैले कहिले पनि उभिएर पिसाब गरिनँ  । (तिर्मिजी)

पवित्र र अपवित्र पानीको वर्णन


१- अबू हुरैरह (रजि.) को भनाई अनुसार एउटा व्यक्तिले अल्लाहका रसूल (स.) सँग सोध्यो,  “हे अल्लाहका सन्देष्टा ! हामी समुद्रबाट यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ । यदि हामी त्यस पानीलाई वुजुु गर्नको लगि खर्च गर्छौ भने हामीसित पिउनको लागि पानी बच्नेछैन । के हामी समुद्रको पानीले वुजु गर्न सक्छौं ?” उहाँ (स.) ले जवाफ दिनु भयो, “त्यो (समुद्रको पानी) पवित्र हो (पवित्र पार्ने शक्ति त्यसमा छ) र त्यसको मृत जनावर हलाल हो (वैध हो खान सकिन्छ) ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

२- उम्मे हानी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स) र मैमूना (रजि) ले एउटा यस्तो भाँडामा गुस्ल गरे (नुहाए) जसमा आँटा मुछेको केही अशं बाँकी थियो । (अह्मद, नसई, इब्ने खुजैमा)

३- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि पानी 'हजर' (अरबको एक ठाँउको नाम हो जहाँको घ्याम्पो निकै प्रचलित थियो) को दुई घ्याम्पो बराबर छ भने त्यो अपवित्र हुँदैन ।” (मुस्नद अह्मद, तिर्मिजी, नसई)

४- जाबिर (रजि.) को भनाई छ, उहाँ भन्नु हुन्छ, “म बिरामी थिएँ र कुनै कुरा बुझ्दैन थिएँ । अल्लाहका रसूल (स.) मलाई भेट्न आउनु भयो । उहाँ (स.) ले वुजु बनाउनु भयो र वुजुु बनाएको पानी म माथि खन्याइदिनु भयो । (बुखारी र मुस्लिम)

५- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “तिमीहरुमध्ये कोही पनि जमेको पानीमा अपवित्र भएको अवस्थामा गुस्ल नगरोस् ।” सबैले सोधे, “ हे अबू हुरैरह ! अनि के गर्ने त ?” अबू हुरैरह (रजि.) ले भन्नु भयो “हातले पानी लिएर गुस्ल गर्ने ।” (मुस्लिम, इब्ने माजा) अबू दाऊदमा उल्लेख गरिएको हदीसमा अल्लाहका रसूल (स.) का यी शब्दहरु प्रयोग भएका छन् : “तिमीहरुमध्ये कोही पनि जमेको पानीमा न त पिसाब गरोस् र न जनाबतको (गुस्ल अनिवार्य भएको) अवस्थामा गुस्ल गरोस् ।

६- आइशा (रजि) को भनाई छ, उनी भन्छिन, “म हैज (महिनावारी) को अवस्थामा हुन्थे, म पानी पिएर अल्लाहका रसूल (स.) लाई दिन्थे, अनी उहाँ (स.) भाँडामा त्यस ठाँउमा मुख राखेर पानी पिउनु हुन्थ्यो जहाँ मैले मुख लगाएर पानी पिएको हुन्थे ।” (मुस्लिम)

७- जाबिर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) सँग एउटा व्यक्तिले सोध्यो, “के हामी गधाहरुले पिएर बचाएको पानीबाट वुजु गर्न सक्छौं ?” उहाँ (स.) ले भन्नु भयो, "अँ सक्छौ, र सम्पूर्ण शिकार गर्ने जन्तुहरुले पिएर बचाएको पानीबाट पनि गर्न सकिन्छ ।” (मुस्नद इमाम शा, दार कुत्नी, बैहकी)

८- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) यात्रामा जाँदै हुनुहुन्थ्यो, बाटोमा एउटा मान्छेलाई एउटा ठूलो पोखरीमा बसेको देख्नु भयो  । उमर (रजि.) ले त्यस व्यक्तिसँग सोधे, “के राती जङ्गली जनावरहरुले तिम्रो पोखरीमा मुख हालेको छ (अर्थात पोखरीलाई जुठो पारेको छ) ? ” अल्लाहका रसूल(स.) ले त्यस व्यक्तिलाई संबोधन गरेर भन्नु भयो, “हे पोखरीको मालिक! यस (उमर (रजि.)) लाई जवाफ नदेऊ । यो जरुरी छैन, जङ्गली जनावर आफ्नो पेटमा जे बाकेर गयो (जति पानी बोकेर गयो) त्यो उसको हो र जे  छोडेर गयो त्यो हाम्रो लागि हो । पिउनको लागि र पवित्रता प्राप्त गर्नको लागि ।” (दार कुत्नी)

९- कब्शा बिन्त कअ्ब (रजि.) को भनाई छ, “एक दिन अबू कतादा (उनको लोग्ने) (रजि) मेरो समक्ष आउनु भयो मैले उहाँलाई वुजुको लगि भाँडोमा पानी दिएँ । त्यति खेर एउटा बिरालो आयो र त्यस भाँडाबाट पानी पिउन थाल्यो । अबू कतादा (रजि.) ले उसको लागि भाँडालाई ढल्काइ दिनुभयो अनि बिरालेले पानी पिइ सक्यो । अबू कतादा (रजि.) ले जब मलाई उहाँतिर अचम्मले हेरेको देख्नुभयो, भन्नुभयो, “नबी (स) ले भन्नुभएको छ कि यो (बिरालो) अपवित्र होईन । यो त उनीहरु मध्येको हो जो तिमीहरु समक्ष आइरहन्छ । (मुस्नद अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

१०- अबू हरैरह (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरु मध्ये कसैको भाँडामा कुकुर मुख हालेर जान्छ भने उसले त्यस भाँडोलाई सात (७) पटक धुनु पर्दछ, पहिलो पटक माटोले धुने र बाँकी ६ पटक पानीले धुने । (बुखारी, मुस्लिम, इमाम अह्मद)