Thursday, April 9, 2020

वुजु के हो र त्यसको तरिका


१- अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको वुजु टुट्छ (वा उसको वुजु छैन) भने उसले वुजु नबनाउन्जेलसम्म अल्लाह तआला उसको नमाजलाई स्वीकार्दैनन्  ।” (मुस्लिम, बुखारी, अबू दाऊद, तिर्मिजी)

२- अब्दुल्लाह बिन सुन्नाबिजी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अल्लाहको भक्त वुजु गर्दा जब कुल्ला गर्छ उसको मुखबाट पापहरू झर्छ । जब ऊ अनुहार धुन्छ, उसको अनुहारबाट पापहरू झर्छ यहाँसम्म कि उसको परेलाबाट पनि पापहरू झर्छ । जब ऊ हात धुन्छ उसको हातबाट पापहरू झर्छ यहाँसम्म कि उसको नङहरूको मुनिबाट पनि पापहरू झर्छ । जब ऊ टाउकोको मसह गर्छ (टाउकोमाथि हात फेर्छ) टाउकोबाट पापहरू झर्छ यहाँसम्म कि कानहरूबाट पापहरू झर्छ । जब ऊ आफ्नो खुट्टा धुन्छ, उसको खुट्टाबाट पापहरू झर्छ यहाँसम्म कि उसको खुट्टाका औंलाहरूबाट पापहरू झर्छ । त्यसपछि उसको मस्जिद तिर हिँडेर जानाले र नमाज पढ्नाले उसले अतिरिक्त पुण्य प्राप्त गर्छ ।” (मुअत्ता इमाम मालिक, नसई, इब्ने माजा, हाकिम)

३- उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “कर्महरू नियतमाथि आधारित छन् ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, अह्मद)

४- उसमान (रजि.) ले वुजुको लागि पानी मगाउनु भयो । पहिले उहाँले तीन पटक आफ्नो हातमा पानी खन्याउनु भयो र त्यसलाई धुनु भयो । अनि भाँडोमा हात हाल्नु भयो र तीन पटक कुल्ला गर्नु भयो, नाकमा पानी हालेर सफा गर्नु भयो र पुरै अनुहार धुनु भयो । अनि तीन पटक कुहिनासम्म दुबै हात धुनु भयो अनि टाउको (र कान) को मसह गर्नु भयो । अनि तीन चोटि गोलीगाँठोसम्म दुबै खुट्टा धुनु भयो अनि भन्नुभयो, “मैले अल्लाहका रसूल (स.) लाई यसरी नै वुजु गरेको देखेको छु । (बुखारी र मुस्लिम)

५- अब्दुल्लाह बिन जैद (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले आफ्ना दुईवटै हातले आफ्नो टाउकोको मसह गर्नु भयो । उहाँ (स.) ले पहिले दुबै हातलाई अगाडीबाट (निधारतिरबाट) पछाडी घाँटी तिर लिएर जानु भयो अनि फेरि पछाडिबाट अगाडी तिर ल्याउनु भयो जहाँबाट शुरू गर्नु भएको थियो । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

६- मुगीरह बिन शुअब (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले आफ्नो टाउकोको अगाडीको भाग, फेटा र मोजामाथि मसह गर्नु भयो । (मुस्लिम)

७- अम्र बिन उमैया (रजि) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई आफ्नो फेटा र मोजामाथि मसह गरेको देखें । (बुखारी, अह्मद, इब्ने माजा)

८- अब्दुल्लाह बिन उमर (रजि.) भन्छन्, एउटा यात्रामा अल्लाहका रसूल (स.) हामी भन्दा पछाडी रहनु भयो जसको कारणले हामीलाई असरको नमाजको लागि ढिलो भयो । हामी वुजु गर्दा खुट्टामा मसह गर्न थाल्यौं, अल्लाहका रसूल (स.) ले चिच्याएर दुई वा तीन पटक भन्नुभयो, “गोलिगाँठालाई आगोबाट बचाऊ” (अर्थात गोलिगाँठालाई धोऊ मसह नगर) । (बुखारी, मुस्लिम)

९- अबू हुरैरह (रजि.) का भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि मेरा उम्मतीहरू (मेरा अनुयायीहरू) लाई कष्ट नहुने भए म वुजु गर्दा हरेक पल्ट मिस्वाक गर्ने आदेश दिन्थें । “(मालिक, शाफई, हाकिम, बैहकी)

१०- औस बिन औस (रजि.) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई वुजु गर्दा तीन पल्ट आफ्नो हात (नाडीसम्म) धोएको देखें । (अह्मद, नसई)

११- लकीत बिन सबरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जब तिमी वुजु गर्छौ, कुल्ला गर्नु ।” (अबू दाऊद, बैहकी)

१२- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरूमध्ये कोही वुजु गर्छ भने ऊ नाकमा पानी हालोस् र नाकलाई सफा गरोस् ।” (बुखारी, मुस्लिम, अबू दाऊद)

१३- अली (रजि.) ले वुजु्को लागि पानी मगाए । अनि कुल्ला गरे, नाकमा दाहिने हातले पानी हाले र देब्रे हातले नाक सफा गरे र उनले यो काम तीन पल्ट गरे पछि भने, “यही हो अल्लाहका रसूल (स.) को वुजु (को तरिका) ।” (अह्मद, नसई)

१४- लकीत (रजि.) भन्छन्, मैले अल्लाहका रसूल  (स.) सँग सोधें, “हे अल्लाहका रसूल ! मलाई वुजुको विषयमा सिकाउनुहोस् । “उहाँ (स.) ले भन्नुभयो, “वुजु पूरा गर, औंलाहरूको बिचमा खिलाल (औंलाहरूको बीचमा अर्को हातका औंलाहरूले मल्नु) गर र नाकमा राम्ररी पानी हाल यदि तिमी रोजा बसेको छैनौं भने ।” (अबू दाऊद, अह्मद तिर्मिजी, नसई, इब्ने माजा)

१५- इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरू वुजु गर्दा आफ्ना हात र खुट्टाका औंलाहरूको बीचमा खिलाल(औंलाहरूको बीचको भागमा अर्को हातका औंलाहरूले मल्ने) गर ।” (अह्मद, तिर्मिजी, इब्ने माजा)

१६- आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जुत्ता लगाउन, काँईयो गर्न, वुजु गर्न र आफ्ना सम्पूर्ण अन्य कामहरूमा दाहिने तर्फबाट शुरू गर्न मन पराउनु हुन्थ्यो । “(बुखारी, मुस्लिम)

१७- अब्दुल्लाह बिन जैद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) लाई त्यस भाँडामा पानी दिइयो जसबाट उहाँ (स) वुजु बनाउनु हुन्थ्यो । उहाँ (स.) ले वुजु गर्नु भयो र आफ्ना हातहरूलाई मलेर धुन थाल्नु भयो ।” (मुस्नद इमाम अह्मद)

१८- अल्लाहका रसूल (स.) को भनाई छ, “कान टाउकोको भाग हो ।” (अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

[कान यद्यपि टाउकोको भाग हो र कानमा टाउकोको सरह नै मसह गरिन्छ तर कानमा मसह गर्नु टाउकोको सरह फर्ज (अनिवार्य) होइन बरू सुन्नत हो ।]

१९- इब्ने अब्बास (रजि.) अल्लाहका रसूल (स).) को वुजु गर्ने तरिका वर्णन गर्दे भन्नु हुन्छ, अल्लाहका रसूल (स.) ले आफ्नो टाउको र कानको मसह एक पल्ट पानी लिएर गर्नु भयो । (अह्मद, अबू दाऊद)

२०- अनस (रजि.) को भनाई अनुसार नबी (स.) एक “साअ” (२.०३ लिटर) देखि ५ “मुद” (२.५५ लिटर) पानीले गुस्ल गर्नु हुन्थ्यो र एक “मुद्” (६०० मि.लि) पानीले वुजु गर्नु हुन्थ्यो । (बुखारी र मुस्लिम)

[हनफी बिद्वानहरूका अनुसार एक साअ ३ लिटर र एक मुद् ०.७५ लिटर को हुन्छ ।]

२१- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार सअ्द (रजि) वुजु गर्दै थिए ।  उनको नजिकबाट नबी (स.) जानुभयो र भन्नुभयो, “हे सअद ! तिमी किन अपव्यय गर्दै छौ (वुजु बनाउन पानी आवश्यकता भन्दा बढी खर्च गर्दैछौ)? सअ्द (रजि.) ले भने, “पानीमा पनि अपव्यय हुन्छ र ?” उहाँ (स.) ले भन्नुभयो, “हुन्छ, यद्यपि तिमी बगेको नदीमा वुजु गर (आवश्यकता भन्दा बढी पानीको खर्च गरेमा त्यहाँ पनि अपव्यय नै हुनेछ) ।” (अह्मद, इब्ने माजा)

२२- जैद बिन हारिस (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) माथि अल्लाहको सन्देश अवतरण हुन शुरू भयो, एक दिन जिब्रइल (अ.) अल्लाहका रसूल (स.) समक्ष आए र उहाँ (स.) लाई वुजुको तरिका र नमाज पढ्न सिकाए । अल्लाहका रसूल (स.) ले जब वुजु गरिसक्नुभयो अँजुलीमा पानी लिनुभयो र त्यसले आफ्नो गुप्ताङ्गको लुगामा छर्कनु भयो । “(मुस्नद इमाम अह्मद)

२३- अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले बिलाल (रजि.) लाई भन्नुभयो, “हे बिलाल ! मलाई बताऊ कि तिमीले इस्लाम अङ्गाले पछि कुन पुण्यको काम धेरै मात्रामा गरेको छौ किनकि मैले तिम्रो जुताको आवाज स्वर्गमा सुनें ? बिलाल (रजि.) ले भन्नुभयो, “दिन र रातमा जति बेला पनि म पवित्र हुन्छु (वुजु वा गुस्ल गर्छु) म आफ्नो सामर्थ्य अनुसार जति सक्छु नमाज पढ्छु ।” (बुखारी र मुस्लिम)

२४- उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरूमध्ये जो कोही वुजु पश्चात यो दुआ पढ्नेछ उसको लागि स्वर्गका आठैवटा ढोकाहरू खोलिने छन् । (स्वर्गमा प्रवेश गर्दा) जुन ढोकाबाट प्रवेश गर्न चाहन्छ उसले प्रवेश पाउनेछ ।

أَشْهَدُ أَنْ لَا إِلَهَ إلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ،

 وَأَشْهَدُ أَنَّ مُحَمَّداً عَبْدُهُ وَرَسُولُهُ


अर्थ : "म गवाही दिन्छु कि अल्लाह बाहेक अरू कोही पूज्य छैन, उनी एक्लै छन् ।  उनको कोही साझेदार छैन र म गवाही दिन्छु कि मुहम्मद (स) उनका भक्त एवं रसूल हुन् ।" (तिर्मिजी, मुस्लिम)

तिर्मिजीमा उल्लेख भएको हदीसमा यी शब्दहरू बढी उल्लेख भएका छन्ः "हे अल्लाह ! मलाई तौबा गर्नेवालाहरू र पवित्रता अपनाउनेहरूमध्येको बनाइदेऊ 


No comments:

Post a Comment