Wednesday, April 8, 2020

इस्लाममा पवित्रता एवं अपवित्रता


१- अल्लाहका रसूल (स) ले भन्नुभएको छ "पवित्रता आधा ईमान (आस्था) हो ।" (बुखारी र मुस्लिम)

२- अब्दुल्लाह बिन उमर (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स) ले भन्नु भयो "हाम्रोलागि दुईवटा मृत जनावर र दुईवटा रगतलाई हलाल गरिएको छ । दुईवटा मृत जनावर माछा र सलह हुन र दुईवटा रगत कलेजो र फियो (को रगत) ।" (अह्म, शाफ़िई, इब्ने माजा, बैहकी, दार कुत्नी)

३- अबू हुरैरह (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कसैको पिउने चिजमा झिंगा खस्यो भने उसले त्यस (झिंगा) लाई डुवाइदिनु पर्छ र फेरी त्यसलाई फ्याँकिदिनु पर्छ किनकी उसको एउटा पखेटामा उपचार छ र अर्कोमा रोग ।” (बुखारी, अबू दाऊद, अह्मद, इब्ने माजा)

४- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरु मध्ये कसैको भाँडामा कुकुरले मुख हाल्यो भने उसले आफ्नो भाँडोलाई सात पटक धुनु अनिवार्य हुन्छ ।” (बुखारी, मुस्लिम, ह्मद)

५- उम्मे कैश (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) समक्ष उनी आफ्नो एउटा बच्चा (छोरा) लाई लिएर गइन । त्यस बच्चाले अहिले खाना खान थालेको थिएन । उसले अल्लाहका रसूल (स.) को काखमा पिसाब गरिदियो अनि अल्लाहका रसूल (स.) ले पानी मगाएर आफ्नो लुगामा छ्याप्नु भयो र त्यसलाई (लुगालाई) पखाल्नु भएन । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

६- अली (रजि.) को भनाई अनुसार अल्लाहका सन्देष्टा (स.) ले भन्नु भयो, “सानो बालकको पिसाबमा पानी छ्याप्ने र बालिकाको पिसाबलाई धुने ।” (मुस्नद अह्मद)

७- अली (रजि.) भन्नुहुन्छ, मलाई धेरै मजी आउँदथ्यो र यस विषयमा अल्लाहका रसूल (स.) सँग प्रत्यक्ष रुपले प्रश्न गर्न लजाउँथे । मैले एउटा व्यक्तिलाई अल्लाहका रसूल (स.) सँग यस विषयमा सोध्नलाई भनें र उहाँ (स.) ले भन्नु भयो, “वुजु गर र आफ्नो गोप्य अङ्गलाई पखाल ।” (बुखारी)

[मजी भनेको सेतो टाँसिने तरल पदार्थ हो जुन यौन अङ्गबाट यौन क्रियाकलापको विषयमा सोँचदा वा यौन साथीसित जिस्कदा र यस्तै अरु क्रियाकलापहरु गर्दा निस्कन्छ ।]

८- इब्ने अब्बास (रजि) को भनाई छ, “वीर्य निस्कदा गुस्ल (नुहाउनु) अनिवार्य हुन्छ र मजी र वदी निस्कदा राम्ररी वुजु गर्नु अनिवार्य हुन्छ । (बुखारी)

[वदी भनेको सेतो, बाक्लो तरल पदार्थ हो जुन कसै–कसैले पिसाब गरे पश्चात निस्कन्छ ।]

९- सहल बिन हनीफ (रजि) को भनाई छ, “म धेरै मजी निस्केको कारणले पीडित थिँए । यसको कारणले म धरै पटक गुस्ल (नुहाउने) गर्थें । मैले यस परिस्थितिको वर्णन अल्लाहका रसूल (स.) सँग गरें । उहाँ (स.) ले भन्नु भयो, “तिम्रो लागि वुजु गर्नु पर्याप्त हुन्छ ।”  मैले भने,  “हे अल्लाहका सन्देष्टा ! लुगामा लागेको मजीलाई के गर्ने ?”  उहाँ (स.) ले भन्नु भयो, “एक मुठ्ठी पानी लिऊ र तिमीलाई जहाँ मजी लागेको छ भन्ने अनुमान छ त्यहाँ छर्किदेऊ ।” (अह्मद, तिर्मिजी, इब्ने माजा)

१०- आइशा (रजि) भन्नु हुन्छ, “म अल्लाहका रसूल (स.) को लुगामा मनी (वीर्य) सुखेको अवस्थामा खुर्केर सफा गर्ने गर्थें र भिजेको अवस्थामा धुन्थें ।” (अह्मद, दार कुत्नी, बज्जार, अबू अवाना)

११- अनस (रजि.) को भनाई अनुसार फत्हे खैबर (खैबर विजय भएको दिन) हामीलाई जङ्गली जनावरहरुको मासु धेरै मात्रामा प्राप्त भयो । त्यति बेला अल्लाहका रसूल (स.) को तर्फबाट एक जनाले घोषणा गर्यो  “अल्लाह र उसको रसूल (स.) ले तिमीहरुको लागि जङ्गली गधाहरुको मासु खानु अवैध गरेका छन् किनकी यो अपवित्र हो ।” (बुखरी र मुस्लिम)

१२- इब्ने मस्ऊद (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) शौचालय जानको लागि बाहिर जानु भयो र मलाई तीनवटा ढुङ्गा ल्याउन आदेश दिनु भयो । मैले दुईवटा ढुङ्गा पाएँ तर तेस्रो पाइन । म लीद (जनावरको सुखेको दिसा) लिएर गएँ । उहाँ (स.) ले दुईवटा ढुङ्गा लिनु भयो र लीद फ्याकिदिनु भयो र भन्नु भयो, “यो अपवित्र हो” । अर्को हदीसमा छ कि उहाँ (स.) ले भन्नु भयो “यो गधाको लीद हो” । (बुखारी, इब्ने मजा, इब्ने खुजैमा)

१३- अनस (रजि) को भनाई अनुसार “अकल” र अरीना (अरबका दुईवटा कबीला अर्थात समुदाय) का केही व्यक्तिहरु मदीना शहर आए र त्यहाँका जलवायुको कारणले बिरामी भए । अल्लाहका रसूल (स.) ले उनीहरुलाई ऊँटको दुध र पिसाब पिउने आदेश दिनु भयो ।” (बुखारी, मुस्लिम, अह्मद)

१४- अस्मा बिन्त अबू बक्र (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) समक्ष एउटी महिला आइन् र सोधिन्, “हामीमध्ये कसैको लुगामा महिनावारीको रगत लाग्यो भने के गर्ने ?” उहाँ (स.) ले भन्नु भयो, “त्यसलाई खुर्केर सफा गर्ने, पानी हालेर मल्ने, माथिबाट पानी हाल्ने र त्यही लुगा लगाएर नमाज पढ्ने ।” (बुखारी र मुस्लिम)

१५- अबू हुरैरह (रजि) को भनाई छ कि एउटा देहाती (मस्जिदमा) आयो र मस्जिदको सहन् (आंगन) मा बसेर पिसाब गर्न थाल्यो । सहाबीहरु (रजि.) उसलाई समात्न र रोक्न दर्गुन थाले । अल्लाहका रसूल (स.) ले भन्नु भयो, “उसलाई पिसाब गर्न देऊ र त्यस पछि उसको पिसाब माथि एक मग पानी बगाईदिनु किनकी तिमीहरु सजिलो बनाउन पठाइएका हौ (मामिलालाई सजिलो बनाउन पठाइएका हौं) झन गाह्रो बनाउन पठाइएका होइनौं ।” (बुखारी, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

१६- अब्दुल्लाह इब्ने अब्बास (रजि.) र मैमुना (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग कसैले सोधेछ कि यदि घ्यूमा मुसा खस्यो भने के गर्ने ? उहाँ (स.) ले भन्नु भयो, “उस (मुसा) को वरिपरिको घ्यूलाई फ्याँकिदेऊ र आफ्नो घ्यू (बचेको घ्यू) खाऊ ।” (बुखारी)

१७- इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “दिबागतले छाला पवित्र हुन्छ । (बुखारी र मुस्लिम)

१८- अबू हुरैरह (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुको जुतामा अशुद्धता लाग्यो भने त्यसलाई माटोले शु्द्ध पारिदिन्छ ।” (अबू दाऊद)

१९- अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज पढाई राख्नु भएको थियो तर (नमाजको अवस्थामा नै) उहाँ (स.) ले आफ्नो जुत्ता फुकालिदिनु भयो । (सँगै नमाज पढिरहेका) सहाबीहरु (रजि) ले पनि (उहाँ (स.) लाई जुत्ता फुकालेको देखेर) आफ्ना जुत्ताहरु फुकालिदिए । जब नमाज सकाएर अल्लाहका रसूल (स.) ले सबैसँग सोधे, “तिमीहरुले आफ्नो जुत्ताहरु किन फुकालेको ?” सहाबीहरु (रजि) ले जवाफ दिए “हामीले तपाईलाई जुत्ता फुकालेको देखेर फुकालेका हौं । उहाँ (स.) ले भन्नु भयो, “म समक्ष जिब्रईल आए र भने कि मेरो जुत्तामा अशुद्धता लागेको छ (यसकारणले मैले आफ्नो जुत्ता फुकालेको) । तसर्थ तिमीहरु मध्ये कोही मस्जिदमा आउँछ भने ऊ आफ्नो जुत्तालाई राम्ररी हेरोस् यदि त्यसमा अशुद्धता लागेको छ भने त्यसलाई जमीनमा घश्रेर शुद्ध परोस र त्यस जुत्तालाई लगाएर नमाज पढोस् ।” (मुस्नद अह्मद)

No comments:

Post a Comment